गृहपृष्ठ Featured रास्वपाबाट बाजुरामा उम्मेदवार रहेका हेमराजले बालेन बाजुरा आएको थाहै पाएनन्

रास्वपाबाट बाजुरामा उम्मेदवार रहेका हेमराजले बालेन बाजुरा आएको थाहै पाएनन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम भ्रमण पूरा गरेका छन् । शुक्रबार मात्रै उनी अछाम हुँदै कर्णाली प्रदेश प्रवेश गरेका छन् । ‘काठमाडौं फर्किन हतार छ’ भन्दै जुम्लाको कार्यक्रम स्थगित गरेका बालेनले शनिबार सुर्खेतमा र्‍याली निकालेका छन् ।

चार दिनको सुदूरपश्चिम भ्रमणमा बालेन मतदातासँग बोलेनन् । बालेनले प्रदेशका १६ वटै निर्वाचन क्षेत्र पुगेर आफ्ना पार्टीका लगभग सबै उम्मेदवारलाई भेटे । तर, रास्वपाबाट बाजुरामा उम्मेदवार रहेका हेमराज थापाले भने बालेन जिल्ला पुगेको पत्तै पाएनन् ।

‘प्रिय बालेन, तिमी बाजुरा आएको मैले दुई दिनपछि थाहा पाएँ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चार र सडकको पहुँचबाट टाढा रहेको मेरो जिल्लाको हिमाली पालिकाका हिउँले ढाकिएका घाँटीहरू छिचोल्दै गर्दा तिमी मेरो सचिवालय मार्तडिमा पुगेछौँ । म तिमीलाई स्वागत गर्न आउन सकिनँ । अहिले यो सन्देश म हुम्ला जिल्लाको मोबाइल नेटवर्कबाट लेख्दै छु । बालेन तिमी निकट भविष्यमा प्रधानमन्त्री बन्दै छौँ, अब मेरो जिल्लाका नागरिकले फेरि यस्तो दु:ख कहिल्यै भोग्न नपरोस् है ।’

हेमराजले बाजुरा अभाव नभएर अवसरको जिल्ला भएको पनि बताएका छन् ।

चुनावी अभियानका क्रममा बालेन बिहीबार बाजुरा पुगेका थिए । जिल्ला सदरमुकाम मार्तडीमा उनी ५ मिनेट मात्र बसे । शाहका लागि मार्तडीमा खानाको व्यवस्था गरिएको थियो । तर, उनी खानासमेत नखाएर फिर्ता भएका थिए । रास्वपा बाजुराका सभापति नवराज जैशी पनि बालेन पुग्दा मार्तडी थिएनन् ।

‘प्रतिनिधिसभा सदस्य उम्मेदवार हेमराज थापाज्यूसँगै म पनि हिमाली गाउँपालिका थिएँ,’ जैशीले भने, ‘उहाँ बाजुरा आउने टुङ्गो नभएकोले हामीले भेट्न पाएनौँ । उहाँ (बालेन) उम्मेदवारको सचिवालयमा पुगेर फर्किनुभएको हो ।’

बालेन बाजुरा पुग्दा उनलाई हेर्नेको ठूलो भिड लागेको थियो ।

सम्बन्धित् समाचार