गृहपृष्ठ Featured प्रहरी नागरिकप्रति उत्तरदायी हुनुपर्‍यो : कार्की

प्रहरी नागरिकप्रति उत्तरदायी हुनुपर्‍यो : कार्की

कपिलवस्तु — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीलाई नागरिकप्रति उत्तरदायी भई सेवामा खटिन निर्देशन दिएका छन् ।

चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले मानिसको बोलीमा रस हुने र मानिसकै बोलीमा विष हुने भन्दै सेवा प्रदायक संस्थालाई पीडितमैत्री भावना, समानता र बराबर दृष्टिले न्याय दिनुपर्ने बताए । उनले नागरिकप्रतिको कर्तव्य नै प्रहरीको जिम्मेवारी भएको कुरा भुल्न नहुने सुनाए ।

नवनिर्मित सुविधा सम्पन्न भवन निर्माणसँगै प्रहरीले सेवा विस्तार गरेर सहज र उत्प्रेरित भएको उनले बताए । जनताको सेवामा २४ सै घण्टा खटिने प्रहरीका लागि यस्ता भौतिक संरचनाले सहज हुने पनि उनले सुनाए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मुलुकको संवेदनशील र भविष्य भएकाले उनीहरूको सेवा सुविधाका लागि प्रहरी सचेत भएर काम गर्नुपर्ने उनले बताए ।

यूएनओपीएसको सहयोगमा १२ कोठे उक्त भवन २ करोड ३६ लाख रुपैयाँ लागतमा १२ महिनामा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा यूएनओपीएस नेपाल कन्ट्री म्यानेजर कोमल कार्की, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा र लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

सम्बन्धित् समाचार