गृहपृष्ठ Featured अब टिकटक खोल्नेबित्तिकै निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोहरू देखिने

अब टिकटक खोल्नेबित्तिकै निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोहरू देखिने

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनका वेला मिथ्या र भ्रामक सूचना फैलिन नदिन र त्यस्ता सामाग्रीबारे मतदातालाई सुसूचित गराउने उदेश्यले निर्वाचन आयोग र भिडियो सेयरिङ प्लाटफर्म टिकटकबीच समझदारी भएको छ । समझदारीअनुसार अब टिकटक एप खोल्नेबित्तिकै निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोहरू स्वतः देखिनेछन् ।

बुधबार आयोगमा आयोजित कार्यक्रममा टिकटकका तर्फबाट दक्षिण एसिया प्रमुख फिर्दोस मोत्ताकिन र आयोगका प्रवत्ता नारायणप्रसाद भट्टराईले  समझदारी पत्र आदनप्रदान   गरे ।

कसैलाई हानि पुर्‍याउने नियतले फैलाइने झुटो विवरण नै मिथ्या सूचना भएको र कुनै पनि समाचार वा सामाग्री सेयर गर्नुअघि प्रयोगकर्तालाई एकपटक सोच्न र हतार नगर्न आयोगका टिकटक भिडियोमा आग्रह गरिएका छन् । यी भिडियोहरू टिकटक खोल्नासाथ प्रयोगकर्ताले देख्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
आयोगका प्रवक्ता भट्टराईले यसबाट भ्रामक सूचनाविरुद्ध सचेतना फैलाउन मद्दत पुग्ने बताए । टिकटकका दक्षिण एसिया प्रमुख मोत्ताकिनले निर्वाचनका वेला सुरक्षित डिजिटल अभिव्यक्तिको वातावरण तयार गर्ने प्रतिबद्धता जनाए । मोत्ताकिनका अनुसार टिकटकमा निर्वाचनसम्बन्धी सामाग्री विश्वसनीय र पारदर्शी बनाउन आयोगसँग समन्वय गरिएको हो ।

यस सहकार्यअन्तर्गत निर्वाचनसम्बन्धी आधिकारिक जानकारी प्रवाह, मतदाता शिक्षासम्बन्धी सामाग्री प्रवर्द्धन तथा मिथ्या र भ्रामक सूचनाको पहिचान र नियन्त्रणमा संयुक्त प्रयास गरिनेछ । ‘निर्वाचनको समयमा गलत सूचना फैलिन नदिन टिकटकले विभिन्न उपाय अपनाइरहेको छ,’उनले भने, ‘हामीले नेपाली र स्थानीय भाषा बुझ्ने तथ्य-जाँच साझेदारसँगको सहकार्य गरेका छौँ, टिकटकको कम्युनिटी गाइडलाइन कडाइका साथ कार्यान्वयन गरेका छौँ । शंकास्पद सामाग्रीको निगरानी तथा आवश्यक परे हटाउने प्रक्रिया प्रभावकारी बनाइएको छ ।’

मोत्ताकिनका अनुसार राजनीतिक विज्ञापन र संवेदनशील सामग्रीबारे विशेष सतर्कता अपनाइएको छ भने प्रयोगकर्तालाई आधिकारिक स्रोतबाट जानकारी लिन प्रोत्साहित गर्ने व्यवस्था पनि गरिएको छ । टिकटकले लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै जिम्मेवार डिजिटल प्लाटफर्मका रूपमा काम गर्ने उनले उल्लेख गरे ।

सम्बन्धित् समाचार