गृहपृष्ठ Featured बालेन्द्रप्रति स्थानीय : फिल्मी शैलीको मान्छे, फुत्त आयो, घण्टी बजायो, हात हल्लायो हिँड्यो

बालेन्द्रप्रति स्थानीय : फिल्मी शैलीको मान्छे, फुत्त आयो, घण्टी बजायो, हात हल्लायो हिँड्यो

अघिल्लो दिन नै आउने समय दिएका रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) बिहीबार विहान गाईघाट आए, तर एक मिनेट पनि नबसी हिँडे। विहान ९ः०० बजे आउने भनिएकोमा उनी केही ढिलो गरी गाईघाट आइ पुगेका थिए।

सेतो कारमा आएका साह गाडीबाट उत्रिएर सरासर मदन भण्डारी लोकमार्गमै सदरमुकामस्थित पुरानो गाईघाट (पिजी) चोकमा रहेको रास्वपाको निर्वाचन क्षेत्र नं. १ को चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयमा पुगेका थिए। त्यहाँ झुण्ड्याइएको घण्टीको रालो बाँधेको डोरी तानेर हल्लाए अनि सरासर गाडीमा चढेर हात हल्लाउँदै बाटो लागे।

साहलाई हेर्नका लागि पिजी चोकस्थित सडक वारिपारि पेटीमा समर्थक तथा सर्वसाधारण भेला भएका थिए भने सुरक्षाकर्मी र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गरिएका थिए। सम्पर्क कार्यालय अगाडि आइ पुगेका उनको कार रोक्नुअघि नै मिडियाकर्मी र युट्युबरहरूले घेरे र फोटो भिडियो खिच्दै प्रतिकृया मागेका थिए।

तर, जवाफमा उनले हात जोडेर नमस्ते गर्नुका साथै शुभचिन्तकहरूसँग हात मिलाउने काम मात्र गरे, केही बोलेनन्।अरू ठाउँमा पनि प्रायःनबोली हिँड्ने साहले यहाँ पनि बोल्ने अपेक्षा कमै गरिएको थियो र भयो पनि त्यस्तै। सरर आए, गाडी रोके, उत्रिएर सरासर सम्पर्क कार्यालय गए, झुण्ड्याइएको घण्टी बजाएर हात हल्लाउँदै फेरि गाडी चढेर बाटो लागे।

बुधबार नै आउने भन्ने हल्ला चलाइएकाले समर्थक र पार्टी कार्यकर्ताहरू टाढाटाढाबाट हेर्न भेट्न भनेर आएका थिए। तर, ३ः०० बजे आउने भनिए पनि ४ः०० बजेसम्म नआएपछि सम्पर्क कार्यालयमा रहेका कायकर्ताहरूले उनी अस्वस्थताका कारण आउन नसकेको र भोलि बिहान ९ः०० बजे आउने जानकारी दिएका थिए।

प्रचार गरिए जस्तै आउन त उनी आए तर केही बोल्लान् र सुन्न पाइएला भन्ने अपेक्षा भने कार्यकर्ताको पूरा भएन। ‘यत्तिका क्रेज भएका नेता, त्यसमाथि प्रस्तावित देशका प्रधानमन्त्री जस्तो मान्छे फिल्ड आएपछि सामान्य दुई र चार शब्द बोलेर कार्यकर्ता र सर्वसाधारणको जिज्ञासा मेटाउनु पर्ने हो,’ भेलामा सहभागीहरू भन्दै थिए , ‘कस्तो फिल्मी कलाकारशैलीको मान्छे? फुत्त आयो, घण्टी बजायो, हात हल्लायो हिँड्यो।’

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लगातार तीन कार्यकाल चुनाव जित्दै आएको झापा निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यमा ओलीलाई टक्कर दिँदै गरेका साहलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ।

प्रस्तावित प्रधानमन्त्री भएकैले पनि देशवासी नागरिकले उनका योजना, खाका र विकासका मोडलहरूबारे जिज्ञासा राख्न पाउनुपर्ने र तिनको निदानका लागि केही कुरा सम्बोधन गर्नुपर्नेमा त्यसो हुन नसकेको सहभागीहरूको प्रतिक्रिया थियो।

सम्बन्धित् समाचार