वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले बाणगंगा नगरपालिकाका कुनै पनि वडामा कांग्रेस कमजोर नरहेको दाबी गरेका छन्।
बिहीबार बाणगंगा नगरपालिका–४ मा स्थापना गरिएको कांग्रेसको चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार मुसलमानले पार्टी संगठन बाणगंगाका सबै वडामा बलियो रहेको उल्लेख गरे। उनले कार्यकर्तालाई कमजोर मनोविज्ञान नबनाउन आग्रह गर्दै चुनावी अभियानमा थप सक्रिय हुन निर्देशन दिए।

संविधानसभा सदस्यसमेत रहेका मुसलमानले विगतमा जनताको विपक्षमा गएर कुनै कार्य नगरेको भन्दै आफू सधैं जनताको पक्षमा उभिएको बताए। साथै उनले पार्टी सभापति गगन थापा नेतृत्वमा आएपछि कांग्रेसप्रतिको आकर्षण अझ बढेको दाबी गरे।
उनले आगामी निर्वाचनमा कांग्रेसले १० देखि १५ हजार मत अन्तरले जित्ने दाबीसमेत गरे।
यसैगरी कार्यक्रममा बोल्दै कांग्रेसकी समानुपातिक उम्मेदवार बिमला गैरेले देशभर कांग्रेसको चुनावी माहोल बढ्दै गएको बताउँदै ढुक्क भएर चुनावी अभियानमा सहभागी हुन कार्यकर्तालाई आग्रह गरिन्।
कार्यालयको उद्घाटन बाणगंगा नगरपालिकाका संस्थापक मेयर मंगल प्रसाद थारु र महाधिवेशन प्रतिनिधि दुर्गा बहादुर सेनले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रम कांग्रेस बाणगंगा नगर सभापति विष्णु थापाको अध्यक्षता तथा नगर सचिव गोविन्द प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ कपिलवस्तुका सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिएका छन्।








