रोमारियो सेर्फडले ह्याट्रिकसहित पाँच विकेट लिएपछि दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले आइसीसी टी–२० विश्वकपमा सानदार सुरुवात गरेको छ।
शनिबार भएको खेलमा विश्वकपको दोस्रो वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको जित निकालेको हो।
वेस्ट इन्डिजले दिएको १ सय ८३ रनको बलियो लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १ सय ४७ रन बनाउँदा अलआउट भयो।
स्कटल्यान्डको ब्याटिङ लाइन ध्वस्त पार्न सेफर्डले ह्याट्रिकसहित पाँच विकेट आफ्नो नाममा गरे। उनले १७ औँ ओभरमा चार विकेट लिएपछि स्कटल्यान्ड पतनको बाटोमा पुगेको थियो।
सेफर्डले १७ औँ ओभरको दोस्रो बलमा म्याथु क्रसलाई ११ रन बनाउँदा क्याच आउट गरे। सोही ओभरको तेस्रो बलमा माइकल लिस्क र चौथो बलमा ओलिभर डेविटसनलाई पेभेलियनको बाटो देखाए।
छैटौँ बलमा सफयान सरिफलाई आउट गरे। त्यसअघि पाचौँ ओभरको तेस्रो बलमा ब्रान्डोन म्याक मुलेनलाई १४ रनमा बोल्ड आउट गरे।
जेसन होल्डरले तिन विकेट लिए। समर जोसेफ र गुणाकेश मोतीले समान एक विकेट आफ्नो नाममा गरे।
स्कटल्यान्डका लागि कप्तान रिची वेरिङटनले सर्वाधिक ४२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। टम ब्रुसले ३५ रन थपे।
त्यसअघि कोलकताको इडेन गार्डेनमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८२ रनको योगफल तयार पारेको थियो।
वेस्ट इन्डिजका लागि सिमरोन हेटमायरले सर्वाधिक ६४ रनको योगदान दिए। ब्राण्डोन किंगले ३५ रन थपे। सेरफाने रोदरफोर्डले २४, रोभमान पावेलले २४ र कप्तान साइ होपले १९ रन बनाए।
विश्वकपको पहिलो दिनको अन्तिम खेलमा साविक विजेता भारत र अमेरिका खेल्नेछन्। सो खेल मुम्बइको वानखेडे स्टेडियममा हुनेछ।








