लुम्बिनी — हिन्दु र बौद्ध धर्मगुरुले सदभाव कायम गरेर शान्ति र करुणाका लागि सहकार्य गर्ने उद्देश्यले शान्ति–मैत्री लुम्बिनी यात्रा गरेका छन् ।
हिन्दु धर्मका धर्मगुरु, अध्येता, विद्वान र ज्योतिष तथा बौद्ध धर्मका धर्मगुरु, विद्वान र भिक्षुले मायादेवी मन्दिर, अशोक स्तम्भ र पुष्करणी पोखरी अवलोकन गरेका हुन् । लुम्बिनीलाई सबै धर्म र सप्रदायको आस्थाको केन्द्र बनाउनु पर्ने उनीहरुले बताए ।
हिन्दु धर्मका धर्मगुरु, अध्येता र विद्वानलाई वरिष्ठ पुरातत्वबिद वसन्त बिडारीले बुद्धको महत्व, लुम्बिनी, मायादेवी मन्दिर, उत्खनन् र संरक्षण तथा लुम्बिनी विकास गुरुयोजनाबारे जानकारी दिएका थिए ।
शान्ति चाहनेका लागि लुम्बिनी साझा स्थल भएको र व्यक्तिगत आस्थाभन्दा माथि उठेर राष्ट्रहितका लागि धार्मिक एकता र सहिष्णुता कायम गर्नुपर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए । ‘विश्व शान्तिका लागि धार्मिक सदभाव आवश्यक छ,’ उनले भने, ‘लुम्बिनीको संरक्षण र प्रवर्द्धनमा सबै धर्म र सम्प्रदायको उत्तिकै जिम्मेवारी र उत्तरदायित्व छ ।’
विश्व ओमकार एकता महाअभियानका संयोजक डा. चिन्तामणीनाथ योगीले राष्ट्र निर्माणका लागि धार्मिक एकता र सद्भाव अपरिहार्य रहेको बताए । हिन्दु र बौद्ध धर्म बीच समनता रहेको उल्लेख गर्दै नेपाल हिन्दु, बौद्ध, किरात, जैन र बोनलगायत विविध धार्मिक समुदायको साझा भूमि भएकाले सहअस्तित्व र सहकार्यमा बस्नुपर्ने बताए ।
संगत संस्कृति अभियानका प्रमुख पुष्पराज पुरुषले बुद्ध जन्मस्थल सम्पूर्ण नेपालीको साझा धरोहर भएको बताउँदै धार्मिक भावना भएका प्रत्येक व्यक्तिले जीवनमा कम्तीमा एकपटक लुम्बिनीको भ्रमण गर्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय उपप्राध्यापक भिक्षु सिरी बजिर, धार्मिक अभियानता मोहन रूम्बा, खेन्पो फुर्वा र भन्ते सुमंगङ्लो लगायतले यात्राका बारेमा बोलेका थिए ।









