कपिलवस्तु ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । यसैबीच कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अधिवक्ता मोहनलाल आचार्य चुनावी मैदानमा उत्रिएका छन् । ‘अनुभूति हुने कानुन’ र विकासको एजेन्डासहित उम्मेदवारी दिएका आचार्यको उपस्थितिसँगै कपिलवस्तु–१ राजनीतिक रूपमा विशेष चासोको केन्द्र बनेको छ ।
अधिवक्ता रहेका आचार्य सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । उनलाई कपिलवस्तुको राजनीतिक इतिहासमै फरक र उच्च योग्यता बोकेको उम्मेदवारका रूपमा पनि धेरैले व्याख्या गर्न थालेका छन् ।
निर्वाचन नजिकिँदै गर्दा आचार्य मतदातासँग भेटघाट, छलफल तथा सुझाव संकलन गर्दै मत माग्न व्यस्त छन् । संविधानविद् तथा परराष्ट्र कानुनविज्ञका रूपमा परिचित उनी लामो समयदेखि कानुन व्यवसाय, संवैधानिक व्याख्या, नीतिगत बहस तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनी अभ्यासमा सक्रिय रहँदै आएका छन् । यही अनुभवलाई जनताको दैनिक जीवनसँग जोड्ने उद्देश्यले आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उनले बताएका छन् ।
उनको चुनावी एजेन्डाको मुख्य केन्द्रमा ‘सर्वसाधारणले अनुभूति गर्ने कानुन’ रहेको छ । कानुन निर्माण प्रक्रियालाई जनमुखी, व्यवहारिक र कार्यान्वयनयोग्य बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । “कानुन किताबमा सीमित होइन, नागरिकको जीवनमा न्याय, सुरक्षा र भरोसा दिलाउने माध्यम हुनुपर्छ,” भन्ने धारणा उनको छ ।
आचार्यले शिक्षा र स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा प्रभावकारी कार्यान्वयन गर्ने योजना अघि सारेका छन् । सर्वसाधारणसम्म सरल, सुलभ र गुणस्तरीय पहुँच विस्तार, सरकारी सेवाको गुणस्तर सुधार तथा निजी क्षेत्रको व्यवस्थित नियमन उनका प्रमुख एजेन्डा हुन् ।
कृषि प्रधान क्षेत्र कपिलवस्तुको अर्थतन्त्र सुदृढ बनाउन कृषकमुखी कृषि प्रणाली विकास, उत्पादनमा आधुनिकीकरण, बजारीकरणको सुनिश्चितता तथा कृषि बिमालाई प्रभावकारी बनाउने कार्यक्रमलाई उनले प्राथमिकतामा राखेका छन् । साथै साना किसानलाई सहकारी र प्रविधिसँग जोड्ने योजना पनि उनको घोषणापत्रमा समावेश गरिएको छ ।
ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण कपिलवस्तुमा पर्यटन प्रवर्धनलाई उनले अर्को मुख्य एजेन्डा बनाएका छन् । बुद्ध सर्किटको अन्तर्राष्ट्रिय प्रचारप्रसार, पर्यटकीय पूर्वाधार विकास, होटल तथा सेवा उद्योग विस्तारमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य उनले अघि सारेका छन् । “कपिलवस्तुलाई विश्व पर्यटन नक्सामा स्थापित गर्न सकिन्छ,” भन्ने विश्वास उनको छ ।
भौतिक पूर्वाधारतर्फ आधुनिक सडक सञ्जाल, व्यवस्थित शहरीकरण, सुरक्षित खानेपानी, सिंचाइ विस्तार र डिजिटल पूर्वाधार विकासलाई उनले विशेष प्राथमिकतामा राखेका छन् । विकास निर्माणमा पारदर्शिता, गुणस्तर र कडा अनुगमन अनिवार्य हुने उनको भनाइ छ ।
सुशासन आचार्यको अर्को केन्द्रीय मुद्दा हो । कानुनी राज्यको प्रत्याभूति, भ्रष्टाचारको अन्त्य तथा दण्डहीनताविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । सार्वजनिक पदलाई सेवामुखी बनाउने र नागरिकप्रति प्रत्यक्ष जवाफदेही शासन प्रणाली विकास गर्ने उनको भनाइ छ ।
युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, सीप विकास, स्टार्टअप प्रवर्धन तथा वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै अवसर विस्तार गर्ने कार्यक्रम पनि उनको चुनावी एजेन्डामा समेटिएको छ । शिक्षित युवाशक्तिलाई उत्पादन र उद्यमसँग जोड्ने रणनीतिलाई उनले प्राथमिकतामा राखेका छन् ।
कपिलवस्तु–१ मा रास्वपाबाट उम्मेदवारी दिएका आचार्यले कानुन, सुशासन र विकासलाई जोडेर जनतामाझ नयाँ आशा र अपेक्षा जगाउने प्रयास गरेका छन् । अब आगामी निर्वाचनमा मतदाताले उनको एजेन्डा र कार्यदिशालाई कस्तो समर्थन दिन्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।








