गृहपृष्ठ Featured पीडित परिवारलाई एयर इन्डियाले मुद्दा त्याग्न २० लाख प्रस्ताव गरेको खुलासा

पीडित परिवारलाई एयर इन्डियाले मुद्दा त्याग्न २० लाख प्रस्ताव गरेको खुलासा

काठमाडौं । भारतको अहमदाबादमा १२ जुन २०२५ मा लन्डन जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारहरूलाई थप क्षतिपूर्तिको बदलामा मुद्दा नहाल्न ठूलो रकमको प्रस्ताव गरिएको छ ।

लन्डनस्थित अखबार ‘द इन्डिपेन्डेन्ट’का अनुसार एयर इन्डियाले परिवारहरूलाई थप १० लाख भारतीय रुपैयाँ दिएर सम्झौताको प्रस्ताव राखेको छ । केही घटनामा यो रकम २० लाख रुपैयाँसम्म पुगेको उल्लेख छ ।

रकमको बदलामा परिवारहरूले भविष्यमा दुर्घटनासँग सम्बन्धित कुनै पनि दाबी नगर्ने र कम्पनीलाई सबै कानुनी जिम्मेवारीबाट मुक्त गर्ने सर्त मान्नुपर्ने बताइएको छ । यो छुट कुनै पनि देश वा अदालतमा लागु हुने रिपोर्टमा उल्लेख छ ।
एयर इन्डियाको यस प्रस्तावको १३० पीडित परिवारहरूको कानुनी टोलीले विरोध गरेका छन् । उनीहरूको भनाइमा अनुसन्धान पूरा नभएको अवस्थामा मुद्दा हाल्ने अधिकार छोड्न लगाउनु अनुचित हो । केही घाइते परिवारहरूको उपचार अझै जारी छ ।

यस विषयमा एयर इन्डियाका प्रवक्ताले एयर इन्डिया सबै प्रभावित परिवारहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रारम्भिक रकम दिएपछि हरेक परिवारलाई दिइने अन्तिम रकम उचित र कानुनसम्मत होस् भन्ने सुनिश्चित गर्न खोजिएको उनले बताएका छन् ।

१२ जुनमा अहमदाबादबाट लन्डन जाँदै गरेको फ्लाइट एआई–१७१ ले टेकअफ गरेको केही समयपछि एउटा मेडिकल होस्टेलको भवनमा ठोक्किएको थियो । यस दुर्घटनामा २७० जनाको मृत्यु भएको थियो, जसमध्ये २४१ यात्रु र क्रू सदस्य थिए । यो दुर्घटनामा एकजना यात्री मात्र बाँच्न सफल भएका थिए ।
फ्लाइटरडार २४ का अनुसार विमानको अन्तिम सिग्नल १९० मिटर (६२५ फिट) उचाइमा प्राप्त भएको थियो, जुन उडान भरेको तुरुन्तपछि आएको थियो ।

यसैबीच, सर्वोच्च अदालतले ११ फेब्रुअरीमा केन्द्र सरकारलाई विमान दुर्घटनाको अनुसन्धानसम्बन्धी ‘प्रोसिजरल प्रोटोकल’को रिपोर्ट पेस गर्न निर्देशन दिएको छ ।

सरकारका अनुसार एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्यूरो (एएआईबी)को अनुसन्धान अन्तिम चरणमा छ ।

सम्बन्धित् समाचार