कास्की जिल्ला अदालतले रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने भएको छ।
महान्यायाधिवक्ताको कार्यालयले रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविविरूद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थियो।
महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो।
त्यसमा सोमबार भएको सुनुवाइमा कास्की जिल्ला अदालतले रवि विरूद्धको उक्त मुद्दा तत्काल फिर्ता नलिने आदेश गरेको हो।
जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेका हुन्।
सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय हुने आदेश गरेको इजलास अधिकृत गुरूदेव आचार्यले जानकारी दिए।
यसअघि रूपन्देही अदालतले पनि रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो।








