नेकपा (एमाले) घोषणापत्र सार्वजनिक गरेको छ । आफू निर्वाचनमा विजयी भए तत्काल गर्ने कामहरूमध्ये ११ कामलाई उसले विशेष प्राथमिकतामा राखेको छ । अध्यक्ष केपी शर्मा ओलीले बानेश्वरको होटल एभेरेष्टमा सार्वजनिक गरेको घोषणा पत्रमा ११ विषयहरू उच्च प्राथमिकतामा राखेको देखिन्छ ।
१० जीबी डेटा नि:शुल्क
एमालेले आफू सरकारमा जाँदा १८ देखि २८ वर्षका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ ।
युवा उद्यमीलाई १० हजारबराबरको डलर कार्ड
एमालेले दोस्रो प्राथमिकता युवा उद्यमीलाई दिएको छ । जसमा युवा र उद्यमीलाई १० हजार डलर कार्ड स्टार्टअप व्यवसाय र अनलाइन अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड सुविधा दिने उल्लेख गरेको छ । विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पन प्रकृतिको सेयर खरिद गर्नसक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउने प्रतिबद्धता जाहेर गरेको छ ।
सामाजिक सुरक्षालाई निरन्तरता
नेकपा एमालेले आफू सरकारमा जाँदा सामाजिक सुरक्षलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जाहेर गरेका छ । जसमा वैदेशिक रोजगारीमा गएका र देशमा रेमिट्यान्स पठाइ रहेकाहरूलाई सम्मान स्वरुप खातामा ५ हजार रूपैँया हालिदिने व्यवस्था गर्ने भएको छ । त्यसका साथै विदेश जाने सबै श्रमिक नागरिकलाई सामाजिक सुरक्षामा आवद्ध गरिने र सोही प्रणाली विकास गरिने बताएको छ ।
विद्यार्थीलाई २० लाख निर्ब्याजी
एमाले नेतृत्वको सरकार भएको खण्डमा विद्यार्थीलाई २० लाख निर्ब्याजी रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यसका साथै सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको प्रबन्ध गर्ने उल्लेख छ ।
किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म पढ्नेलाई खाजा
एमालेले सबै विद्यालयका किशोरीहरूका लागि निःशुल्क प्याड सहजरूपमा उपलब्ध गरगाउने र १० कक्षासम्मका विद्यार्थीहरूलाई दिवा खाजा प्रबन्ध गर्ने भनेको छ ।
श्रमिकको पारिश्रमिक २५ हजार पुर्याउने
एमालेले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउने प्रतिबद्धता जाहेर गरेको छ । यसका साथै औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिने समेत उल्लेख छ ।
शिक्षक र सामाजिक सुरक्षा
शिक्षकलाई मर्यादाक्रम तोक्ने एमालेले प्रतिबद्धता व्यक्त गरेको छ । सामुदायिक र निजीलगायत सबै विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने उल्लेख गरिएको छ ।
स्वास्थ्य स्वयमसेविका भत्ता बढाइने
नेकपा एमालेको आफ्नो चुनावी घोषणापत्रमा स्वास्थ्य स्वयमसेविकाको वार्षिक प्रोत्साहन भत्ता बढाएर २० हजार पुर्याउने भएको छ । आफ्नो नेतृत्वको सरकार बने स्वयमसेवकहरूलाई योगदानमा आधारिक सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने भनेको छ ।
२० लाखसम्म उद्यमी महिला निर्ब्याजी ऋण
नेकपा एमालेले आफ्नो चुनावी घोषणा पत्रमा महिला उद्यमशिलतालाई उच्च प्राथमिकतामा राख्ने भनेको छ । जसमा विभिन्न वित्तीय संस्थामार्फत २० लाखसम्मको उद्यमी महिला निर्ब्याजी ऋण सुविधा सहजढंगले प्रदान गर्ने उल्लेख गरिएको छ । यसका साथै गर्भवतीलाई सुत्केरी हुनुअघि र पछि स्वास्थ्य परीक्षण गर्न प्रदान गरिँदै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । गर्भवतीका लागि ५ लाखसम्मको जीवन बीमा निःशुल्क गर्ने एमालेको प्रतिबद्धता छ ।
२५ हजारसम्मको ऋण मिनाहा
नेकपा एमालेले आफू नेतृत्वको सरकार बनेको समयमा २५ हजारसम्मको ऋण मिनाहा गर्ने भएको छ । त्यस्तो ऋण मिनामा राज्यले गरीब परिवार पहिचान गरेको घरपरिवारको हकमा लागू हुने भनेको छ । त्यस्तो ऋण २०८२ भदौ महिनासम्मकोमा मात्रै लागू हुनेछ ।
सुरक्षाकर्मी सम्मान
नेकपा एमालेले सुरक्षाकर्मीलाई सम्मान गर्ने कुरा उल्लेख गरेको छ । जसमा राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र स्थायित्वका लागि जीवन अर्पण गर्ने बहालवाला तथा अवकाश प्राप्त सुरक्षाकर्मीहरूको सम्मान र कल्याण सुनिश्चित गरिने उल्लेख छ ।








