गृहपृष्ठ Featured पोखरा लिची बारी घुस प्रकरण: पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग ५ लाख धरौटी माग

पोखरा लिची बारी घुस प्रकरण: पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग ५ लाख धरौटी माग

काठमाडौं । पोखराको लिची बारी जग्गा घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

आइतबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार श्रेष्ठले तोकिएको धरौटी बुझाएर तारिख लिइसकेकी छन् ।

‘पाँच लाख धरौटी माग भएको थियो। उहाँले उक्त धरौटी राखेर तारिख लिनुभएको छ,’ लामिछानेले भने ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठ सहित ७ जनाविरुद्ध असोज २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

आयोगले दुई जनाविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरेको छ भने अन्य प्रतिवादीका हकमा व्यक्तिअनुसार फरक–फरक बिगो मागदाबी गरिएको छ ।

पोखरा महानगरपालिका–१६ मा रहेको दीप विर्ता (लिची बगैंचा) क्षेत्रभित्र पर्ने नक्सा नम्बर २५, २६ र २८ को जग्गासम्बन्धी भ्रष्टाचार प्रकरणमा उनीहरू मुछिएका हुन् । पूर्वमन्त्री गुप्तासँगको अडिओ सार्वजनिक भएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो ।

यसअघि विशेष अदालतले पुस १६ गते पूर्वमन्त्री गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सम्बन्धित् समाचार