गृहपृष्ठ Featured दाङमा दर्जन बढी नेता-कार्यकर्ताले छाडे रास्वपा

दाङमा दर्जन बढी नेता-कार्यकर्ताले छाडे रास्वपा

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै जाँदा दिनहुँजसो नेता-कार्यकर्ताले पार्टी परित्याग गर्ने क्रम बढेको छ।

मंगलबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमार्फत् रास्वपाका युएई प्रवास नेपाली कमिटीका सचिव बलभद्र ओली, दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीलगायत दर्जनभन्दा बढी नेताहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले पछिल्लो समय पार्टीभित्र व्यापक विचलन देखिएको आरोप लगाए । टिकट वितरणदेखि विभिन्न निर्णय प्रक्रियासम्म आर्थिक अपारदर्शिता र मनपरी ढंगले काम भएको भन्दै आफूहरू असन्तुष्ट बनेको बताएका छन् ।

युएई प्रवासमा स्थापना कालदेखि नै संगठन विस्तारमा सक्रिय रहेको उल्लेख गर्दै बलभद्र ओलीले देश परिवर्तन गर्ने विश्वाससहित नेपाल फर्किए पनि पार्टीभित्र देखिएको अवस्थाले निराश बनाएको बताए । उनले रास्वपाबाट अपेक्षित परिवर्तन सम्भव नदेखिएको दाबी गर्दै आगामी निर्वाचनमा “राम्रो र सक्षम उम्मेदवार” लाई मतदान गर्न मतदातासँग आग्रह गरे ।

दाङमा निर्वाचन जनचेतना अभियान सञ्चालन गरी रास्वपाका गलत क्रियाकलापबारे जानकारी गराउने र योग्य उम्मेदवारको पक्षमा वातावरण बनाउन अभियान अघि बढाइने उनको भनाइ छ ।

त्यस्तै, विजय केसीले पनि स्थापनाकालदेखि दाङ क्षेत्र नम्बर २ मा पार्टी सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै पछिल्लो समय पार्टीमा “खराब प्रवृत्तिका व्यक्तिहरू हाबी” भएको आरोप लगाए ।

उनले देशभर नै पार्टी छाड्ने क्रम बढिरहेको दाबी गर्दै अझै धेरैले पार्टी परित्याग गर्ने संकेत गरे । दाङमा रास्वपाभित्र देखिएको यो पछिल्लो घटनाक्रमले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ । केही दिनअघि रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरु त्यहाँ पुगेर ठूलो सभा गरेका थिए ।

सम्बन्धित् समाचार