गृहपृष्ठ Featured संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह

संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह

काठमाडौं ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका छन् । उनले यस्ता आक्रमणहरूले मृत्यु, विनाश र मानवीय पीडा मात्र निम्त्याउने बताएका छन् ।

टर्कले विज्ञप्ति जारी गर्दै भनेका छन्, “म आज बिहान इजरायल र अमेरिकाद्वारा इरानमा गरिएका सैन्य आक्रमण  र त्यसपछि इरानले गरेको प्रतिशोधात्मक प्रहारको निन्दा गर्दछु । कुनै पनि सशस्त्र द्वन्द्वमा सर्वसाधारणले नै ठूलो मूल्य चुकाउनुपर्छ ।”

टर्कले मिसाइल र बमहरू मतभेद सुल्झाउने उपाय नभएको बताएका छन् । उनले थपे, “नागरिकहरूलाई यस्तो भयानक परिणामबाट बचाउन म संयम अपनाउन, सबै पक्षलाई विवेक प्रयोग गर्न, तनाव कम गर्न र वार्ताको टेबुलमा फर्कन आग्रह गर्छु । जहाँ उनीहरू केही घण्टा अघिसम्म सक्रिय रूपमा समाधान खोजिरहेका थिए ।”

रुसी विदेशमन्त्री लाभरोभद्वारा आक्रमणको निन्दा
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आफ्ना इरानी समकक्षी अब्बास अरागचीसँग टेलिफोन वार्ता गर्दै अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । रुसी विदेश मन्त्रालयका अनुसार उनले यी आक्रमणहरू तत्काल रोक्न आग्रह गरेका छन् ।

आणविक स्थलहरूलाई ‘कुनै पनि हालतमा’ निशाना बनाइनु हुँदैन
यसैबीच, रुसी राज्यनियन्त्रित आणविक निगम ‘रोसाटोम’ले इरानबाट ९४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारेको जनाएको छ । तर, बुसेहर आणविक पावर प्लान्टमा आफ्ना कर्मचारीहरू अझै रहेको बताएको छ ।

सीईओ एलेक्सी लिखाचेभलाई उद्धृत गर्दै रोसाटोमले जनाए अनुसार इजरायल र अमेरिकाले इरानलाई निशाना बनाइरहँदा सबै कर्मचारीका परिवार र छोराछोरी, अनावश्यक कर्मचारी तथा देश छोड्न चाहनेलाई त्यहाँबाट निकालिएको छ ।

उनले आणविक सुविधाहरूलाई “कुनै पनि परिस्थितिमा निशाना बनाइनु नहुनेमा जोड दिएका छन् ।

कतार र साउदी अरबद्वारा तनाव ‘तत्काल रोक्न’ आग्रह
कतारका अमिर र साउदी अरबका युवराजबीच भएको टेलिफोन वार्तामा जारी घटनाक्रम र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा यसले पार्ने प्रभावबारे छलफल भएको छ ।

वार्ताको विवरण अनुसार, कतार र साउदी अरबले कुनै पनि किसिमको तनाव तत्काल रोक्न र वार्ताको टेबुलमा फर्कन आवश्यक रहेकोमा जोड दिएका छन् ।

साउदी अरबले कतारप्रति आफ्नो पूर्ण ऐक्यबद्धता र समर्थन व्यक्त गर्दै कतारी भूभागमा इरानी ब्यालिस्टिक मिसाइल प्रहार गरिएकोमा कडा निन्दा गरेको छ । कतारको सार्वभौमसत्ता र स्थिरता रक्षाका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । अलजजिरा

सम्बन्धित् समाचार