गृहपृष्ठ Featured दुई पटक उपप्रधान र गृहमन्त्री भइसकेकाले आफूलाई ‘नयाँ’ भन्न मिल्दैन : हर्क साम्पाङ

दुई पटक उपप्रधान र गृहमन्त्री भइसकेकाले आफूलाई ‘नयाँ’ भन्न मिल्दैन : हर्क साम्पाङ

ललितपुर ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना राजनीतिक दलहरूले देश र जनताका लागि काम नगरेका कारण आफूहरू बाध्य भएर चुनावी मैदानमा उत्रिनुपरेको बताएका छन्। शनिबार ललितपुरको जावलाखेलमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले पटक-पटक जनताले जिताएर पठाउँदा पनि नेताहरूले देशको अवस्था सुधार्न नसकेको आरोप लगाएका हुन् ।

उनले अबको विकल्प श्रम र संस्कृति बुझेका शक्तिहरू नै भएको दाबी गरे। अध्यक्ष साम्पाङले हालैको ‘जेनजी’ आन्दोलनपछि मुलुक संकटमा पर्दा ठूला भनिएका दलका नेताहरू कतै नदेखिएको तर्क गरे।

संकटका बेला जनतालाई साथ दिनुको साटो उनीहरू जिम्मेवारीबाट पन्छिएको उनको भनाइ थियो। सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि पनि कडा प्रहार गरे। घण्टी बजाउँदै आएको रास्वपा अब नयाँ दल नरहेको उल्लेख गर्दै उनले यसका सभापति दुई पटकसम्म उपप्रधान एवं गृहमन्त्री भइसकेकाले आफूलाई ‘नयाँ’ भन्न नमिल्ने बताए।

साम्पाङले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको र आफ्नो दोष जति सबै जीबी राईमाथि थोपर्ने काम गरेको आरोप समेत लगाए। सत्तामा पुगेपछि पुराना दलकै शैली अपनाएको भन्दै उनले नयाँपनको नाममा जनतालाई झुक्याउने काम भइरहेको टिप्पणी गरे।

सम्बन्धित् समाचार