गृहपृष्ठ Featured सेनाले भन्याे- निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध छाैँ

सेनाले भन्याे- निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध छाैँ

नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएकाे छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरू प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना  २०८२ अनुसार सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ ।

विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि निर्वाचनको क्रममा मतदान समापन भए पश्चात् स्थापित प्रोटोकल अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू एवं नेपाली सेना सहितको एकीकृत टोलीले मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्ने निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘२०४८ सालको प्रतिनिधिसभा निर्वाचनदेखि सम्पन्न सबै निर्वाचनहरूमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन समापन भए पश्चात् संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुऱ्याउने जिम्मेवारी निर्वाह गर्दै आएको ब्यहोरा समेत सबैमा जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएकाे छ ।

सम्बन्धित् समाचार