कपिलवस्तु ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा विभिन्न कारणले उम्मेदवारहरू चर्चामा रहेका छन्। यिनैमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मोहन आचार्य पनि विशेष चर्चामा आएका छन्।
आचार्य कपिलवस्तु क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भए पनि उनले भने उक्त क्षेत्रमा आफैंलाई मतदान गर्न पाउने छैनन्। कारण, कपिलवस्तु क्षेत्र नं. १ को मतदाता नामावलीमा उनको नाम नै समावेश छैन। निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार आचार्यको स्थायी ठेगाना ललितपुर महानगरपालिका–२३ मा रहेको छ।
यस कारण स्थानीय स्तरमा उनलाई ‘पर्यटक उम्मेदवार’ को संज्ञा दिँदै आलोचना हुन थालेको छ। स्थानीय मतदाताले आफ्नो क्षेत्रमा बसोबास नगर्ने उम्मेदवारलाई टिकट दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपाले कपिलवस्तुबाट आठ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो। तर अन्ततः केन्द्रबाट मोहन आचार्यले टिकट पाएपछि कपिलवस्तुका पार्टी नेता तथा कार्यकर्तामै असन्तुष्टि देखिएको बताइएको छ। स्थानीय नेताहरूले लामो समयदेखि पार्टी संगठन निर्माणमा सक्रिय व्यक्तिहरूलाई अवसर नदिइएको गुनासो गरेका छन्।
राजनीतिक विश्लेषकहरूले पनि पछिल्लो समय दलहरूले स्थानीय नेतृत्वलाई बेवास्ता गर्दै बाहिरबाट उम्मेदवार ल्याउने प्रवृत्ति बढेको भन्दै आलोचना गरेका छन्। “स्थानीय नेतृत्वलाई अवसर नदिई बाहिरबाट उम्मेदवार ल्याउनु राजनीतिक दलहरूको कमजोरी हो,” एक राजनीतिक विश्लेषकले टिप्पणी गरे।
स्थानीय मतदाताहरूले पनि आफ्नो क्षेत्रको समस्या नजिकबाट बुझ्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। “हामीलाई हाम्रो क्षेत्रका समस्या बुझ्ने र समाधान दिन सक्ने उम्मेदवार चाहिन्छ, पर्यटक उम्मेदवार होइन,” एक मतदाताले प्रतिक्रिया दिए।








