कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का युवा स्वतन्त्र उम्मेदवार आशिष शर्माले आफू राजनीतिमा नयाँ पुस्ताको आवाज र परिवर्तनको प्रतिनिधि बनेर चुनावी मैदानमा उत्रिएको बताएका छन्। मौन अवधिको पूर्वसन्ध्यामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कपिलवस्तु–१ का मतदाताले नयाँ सोच र जिम्मेवार नेतृत्वको अपेक्षा गरिरहेको उल्लेख गरेका हुन्।
उनले लामो समयदेखि पुराना राजनीतिक अभ्यासका कारण अपेक्षित विकास हुन नसकेको बताउँदै अब युवाको नेतृत्वमा पारदर्शी र जनमुखी राजनीति आवश्यक रहेको बताए। “राजनीतिमा नयाँ पुस्ताको सहभागिता र नेतृत्व आवश्यक छ। युवाको सोच, ऊर्जा र जिम्मेवारीले मात्र समाज र देशलाई अगाडि बढाउन सक्छ,” उनले भने।
शर्माले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थका लागि नभई कपिलवस्तु–१ को समग्र विकास र जनताको आवाज प्रतिनिधित्व गर्नका लागि भएको बताए। शिक्षा, रोजगारी सिर्जना, स्वास्थ्य सेवा सुधार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो योजना रहेको उनले स्पष्ट पारे।
युवा पुस्ता देशमै अवसर खोजिरहेको अवस्थामा राजनीतिक नेतृत्वले उनीहरूलाई भरोसा दिलाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। “अब युवाहरू केवल दर्शक भएर बस्ने अवस्था छैन, नीति निर्माण र नेतृत्व तहमा उनीहरूको सक्रिय सहभागिता हुनुपर्छ,” उनले भने।
मौन अवधि सुरु हुनुअघि उनले आम मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै आफूलाई मत दिएर नयाँ पुस्ताको आवाजलाई बलियो बनाउन अपिल गरेका छन्। साथै उनले कपिलवस्तु–१ का सम्पूर्ण मतदाताप्रति समर्थन र विश्वासका लागि धन्यवाद व्यक्त गरेका छन्।








