मनोज पौडेल, कपिलवस्तु ।
शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु २५ सय वर्षअघिसम्म दक्षिण एसियाकै व्यवस्थित, योजनाबद्ध र सग्लो सहर थियो ।
१२ वर्षदेखि बेलायतको दुर्हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् र विशेषज्ञ संलग्न टोलीले गरेको उत्खनन, अध्ययन र अन्वेषणले उक्त तथ्य फेला पारेका हुन् ।
बेलायती प्रयोगशालामा माटो, कार्बन डेटिङ लगायत परीक्षण गर्दा प्राचीनतम् भएको विवरण आएको हो । तर, यति महत्त्वपूर्ण पुरातात्त्विक र ऐतिहासिक विशेषता बोकेको स्थल भने अहिले जीर्ण, उपेक्षित र खण्डहरमा परिणत छ ।
उत्खननबाट व्यवस्थित सहर र घर पाइएका छन् । त्यस्तै तिलौराकोटभित्र बुद्धकाल आसपासका बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन् । ठाउँठाउँमा ठूल्ठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन् । । पाँचौं शताब्दीमा आएका चिनियाँ यात्रीद्वय फायहान र सातौं शताब्दीमा आएका ह्वेङसाङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका तथ्य भेटिँदै गएको छ । ऐतिहासिक रूपाकृतिमा सहर भेटिँदै तिलौराकोटको ऐतिहासिकता राम्ररी पुष्टि भएको वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले बताए ।
भगवान् बुद्धको जन्म साढे २५ सय वर्षअघि भएको इतिहासमा उल्लेख छ । तर, त्यसअघि नै भगवान् गौतम बुद्धको बाल्यकाल र युवा अवस्था बितेको तिलौराकोटमा गाउँको स्वरूपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टि भएको पुरातत्त्वविद् बताउँछन् । यहाँ ईसापूर्व आठौं शताब्दी (२८ सय वर्ष) अघि नै मानव बसोबास भएको पाइएको छ । त्यसको २ सय वर्षपछि ईशापूर्व छैटौं शताब्दीमा सहरीकरण भएको प्रमाण भेटिएको छ । त्यतिबेला घर बनाउन इँटको प्रचलन नै थिएन ।








