गृहपृष्ठ Featured आदिवासी जनजातिलाई ‘पैसामा बिक्ने’ भनेपछि विवादमा तानिइन् सोविता, कारबाहीको चेतावनी

आदिवासी जनजातिलाई ‘पैसामा बिक्ने’ भनेपछि विवादमा तानिइन् सोविता, कारबाहीको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं चितवन क्षेन नं. ३ की उम्मेदवार सोविता गौतम आदिवासी जनजाति समुदायप्रति अपमानजनक अभिव्यक्ति दिएपछि विवादमा तानिएकी छन् ।

सोविताले चुनावी सम्बोधनका क्रममा ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भनी अभिव्यक्ति दिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले आपत्ति जनाएको छ ।

‘आफ्नो सम्बोधनका क्रममा उम्मेदवार गौतमले यस क्षेत्रका वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भनी जुन निकृष्ट टिप्पणी गर्नुभएको छ, त्यसले वर्षौंदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत आदिवासी जनजाति समुदायको मानमर्दन मात्र गरेको छैन, हाम्रो राजनीतिक चेतना र विवेकमाथि समेत गम्भीर प्रहार गरेको छ’, परिषद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

परिषद्ले यस विषयमा गौतमले माफी नमागे उनलाई चुनावमा बहिष्कार गर्ने चेतावनी दिएको छ ।

‘नेपाल आदिवासी जनजाति महासंघ चितवन क्षेत्र नम्बर ३ का सम्पूर्ण संयन्त्रहरू परिचालन गरी उक्त उम्मेदवारलाई ‘चुनावी बहिष्कार’ गर्ने र सशक्त आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति :

645427230_1348809973948954_5300579191654182651_n-1772515349.jpg
 

सम्बन्धित् समाचार