काठमाडौं ।
युनाइटेड अरब इमिरेट्सको दुबईस्थित विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर नेपाल आउँदै र अन्यत्र जाँदै गरेका १०८ नेपालीलाई त्यहाँका विभिन्न होटेलमा राखिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार (फागुन १९) पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार, एयर अरेबियाको उडानमा रहेका २८ नेपाली दुबई ट्रान्जिटमा छन् । तीमध्ये दुईजना अजमान होटेलमा रहेको उनले जनाए ।
यस्तै, फ्लाई दुबईमार्फत विभन्नि गन्तव्यमा जाँदै गरेका ८० नेपाली पनि अहिले दुबईमा रहेका छन् । “उहाँहरूलाई दुबईको होटेलमा राखिएको छ । काठमाडौं उडान गर्न सकिने नसकिने सम्बन्धमा महावाणिज्य दूतावासले फ्लाई दुबईसँग सम्पर्क गरिरहेको छ,” उनले भने ।
ट्रान्जिटमा रहेका नेपालीलाई प्राथमिकतामा राखेर नेपाली नियोगहरूले काम गरिरहेका उनले जनाए ।








