गृहपृष्ठ Featured रुपन्देही-१ का उम्मेदवार हजारीलाललाई विपत्ति, युएईमा काम गर्ने छोराको मृत्यु

रुपन्देही-१ का उम्मेदवार हजारीलाललाई विपत्ति, युएईमा काम गर्ने छोराको मृत्यु

रुपन्देही ।

निर्वाचनको अन्तिम तयारी चलिरहेकै बेला रुपन्देही क्षेत्र नं १ मा प्रतिनिधि सभामा उम्मेदवार भएका हजारीलाल मालीमाथि बज्रपात परेको छ । उनका एक मात्रै छोराको संयुक्त अरब इमिरेट्स (युएई) मा निधन भएसँगै चुनावी तयारीमा लागेका मालीसँगै सिंगो परिवार र उनका इष्टमित्र शोकमा डुबेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)का उम्मेदवार रहेका हजारीलालका २७ वर्षीय छोरा अजय मालीको युएईमा निधन भएको खबर आएपछि माली परिवार मात्रै होइन क्षेत्र नं १ अन्तर्गत पर्ने तिलोत्तमा नगरपालिकाका वडा नं ७ सेमराबजार मात्रै होइन सो  क्षेत्र नै शोकमा परेको स्थानीय बताउँछन् ।

तिलोत्तमा–७ सेमराबजार निवासी अजय रोजगारीका सिलसिलामा १४ महिनाअघि अबुधावी पुगेको र यस्तो घटनामा परेको उनका काका सागर माली बताउँछन् । सागरले निर्वाचनको मुखमा दाइ हजारीलाल प्रचारमै रहेको बेला भएको यो घटनाले आफ्नो परिवारसँगै सिंगो क्षेत्र नै पीडामा रहेको र अब कसरी त्यो शव यहाँ ल्याउने भन्ने चुनौती बढेको बताए ।

हजारीलाल र मालतीका दुई छोरी पछि कान्छा छोरा रहेका अजय अविवाहित थिए । एक छोरीको बिहे भएको र छोराको युएईमा यस्तो घटना भएपछि अहिले सो घरमा सम्हाल्ने मान्छे पनि कोही नभएको छिमेकीहरू बताउँछन् ।

परिवारको आर्थिक अवस्था सुदृढ बनाउने र भविष्यका सपनाहरू साकार पार्ने लक्ष्यसहित विदेशिएका अजय अबुधावीस्थित गोल्डेन डुनेस कन्स्ट्राक्टिङ एलएलसी कम्पनीमा १४ महिनादेखि कार्यरत थिए । काका सागर मालीका अनुसार अजय परिश्रमी र जिम्मेवार स्वभावका थिए, जसले घरपरिवारप्रति ठूलो आशा र भरोसा बोकेका थिए ।

केही दिनअघि इरानले त्यहाँस्थित अमेरिकी सेनाको क्याम्पमा मिसाइल प्रहार गरेपछि अबुधावी क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो । सोही घटनापछि अजय केही समय सम्पर्कविहीन बनेका थिए । परिवारजन चिन्तित भइरहेका बेला फागुन १७ गते बिहान हृदयाघातका कारण उनको मृत्यु भएको खबर प्राप्त भएको पारिवारिक स्रोतले जनाएको छ । मिसाइल आक्रमणपछि उत्पन्न त्रास र मानसिक तनावकै कारण हृदयघात भएको हुनसक्ने परिवारको आशंका छ ।

सम्बन्धित् समाचार