गृहपृष्ठ Featured यी स्थानमा मतगणना शुक्रबार मात्र थालिने

यी स्थानमा मतगणना शुक्रबार मात्र थालिने

आज (बिहीबार) प्रतिनिधिसभा निर्वाचनको मतगणना सुगम क्षेत्रमा आजै थालिने भए पनि दुर्गम र हिमाली क्षेत्रमा भने यो शुक्रबार सुरु गरिने भएको छ।

दुर्गम र विकट क्षेत्रका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले शुक्रबार मात्रै मतगणना सुरु गर्न सकिने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

‘हामी सबै मतपेटिका संकलन गर्दै छौँ, विकट र दुर्गम ठाउँबाट हेलिकप्टरमा समेत मतपेटिका ओसार्न समय लाग्छ’, उनले नेपालखबरसँग भने।

सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका १६ वटा मतदानस्थल,  गण्डकी प्रदेशका ३२ वटा मतदानस्थल, बागमतीका रसुवा, दोलखा र धादिङका केही मतदान केन्द्रका मतपेटिका केन्द्रमा ल्याएर मात्र मतगणना गरिनेछ।

यस्तै लुम्बिनी प्रदेशस्थित रुकुमपूर्वका ७ वटा मतदानस्थल, कर्णाली प्रदेशका हुम्ला, डोल्पा र रुकुम पश्चिमका ४० वटा मतदानस्थलका मतपेटिका पनि केन्द्रमै ल्याएर मतगणना गर्नुपर्नेछ।

यसैगरी सुदूरपश्चिमका दार्चुला, बाजुरा र बझाङका २० वटा मतदानस्थलका मतपेटिका पनि संकलन गर्न समय लाग्ने भएकाले शुक्रबार मात्र मतगणना सुरु गरिने आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए।

सम्बन्धित् समाचार