मनोज पौडेल,
कपिलवस्तु ।
संविधानका जानकार मोहनलाल आचार्य कानुन निर्माण गर्न सर्वोच्च थलो संघीय संसद्मा पुगेका छन् । अहिलेसम्म कानुन बनाउन आवश्यक सल्लाह दिँदै आएका उनी आफैं ऐन–कानुन निर्माण गर्ने थलोमा पुगेका हुन् । कपिलवस्तु–१ मा रास्वपाबाट उम्मेदवार बनेका उनले भारी मतान्तरको जित हात पार्दै संसदीय यात्रा सुरु गरेका छन् ।
कपिलवस्तु–१ मा २०४८ देखिको एमाले र कांग्रेसको विरासत उनले तोडेका हुन् । विशेषज्ञका रूपमा काम गरिरहेका आचार्य गत भदौको जेन–जी आन्दोलनपछि मुलुकलाई निकास दिनका लागि रास्वपा प्रवेश गरेर संसदीय यात्रा सुरु गरेको उनले बताए ।
यहाँ दुई नयाँ अनुहारबीच प्रतिस्पर्धा भयो । आचार्य १८ हजार २ सय ८८ मतान्तरले विजयी भए । आचार्यले ३४ हजार १ सय ४८ मत पाउँदा उनका निकतटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८ सय ६० मत प्राप्त गरेका थिए । पार्टीबाट टिकट नपाएपछि कांग्रेस नेता शर्माले स्वतन्त्र उम्मेदवारी दिएका थिए । शर्मा पनि बैंक तथा वित्तीय संस्थामा सुशासनका जानकार र युवा उद्यमी हुन् । तीन क्षेत्रमध्ये विकासका पूर्वाधर अपेक्षाकृत बढी रहेको क्षेत्र नं १ मा दलबाट १९ जना र १४ स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै आचायले विजयीको माला पहिरिएका हुन् ।







