वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुसिल कुमार चौधरीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या राष्ट्रिय भूमि आयोगको निर्देशनअनुसार समाधान गर्नुपर्ने बताएका छन्।
वडाध्यक्ष चौधरीले वडा कार्यालयहरूले आयोगको निर्देशनअनुसार लगत संकलन गरी वास्तविक सुकुम्बासीहरूको पहिचान गरिसकेको जानकारी दिएका छन्। लगत संकलनपछि जग्गा नापजाँचको काम समेत अघि बढिरहेको उल्लेख गर्दै उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले अन्ततः जग्गा पाउने वा नपाउने भन्ने विषयको अन्तिम निर्णय राष्ट्रिय भूमि आयोगले गर्ने स्पष्ट पारे।
उहाँले अहिलेको अवस्थामा हतारमा कुनै कदम चाल्न आवश्यक नरहेको धारणा व्यक्त गर्दै देशका विभिन्न स्थानमा पर्याप्त तयारीबिना तथा मानवीय संवेदनशीलतालाई समेत बेवास्ता गर्दै जग्गा व्यवस्थापनका काम अघि बढाइएको टिप्पणी गर्नुभयो।
सरकारले हाल चालेको कदम उपयुक्त नभएको उल्लेख गर्दै वडाध्यक्ष चौधरीले भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान राष्ट्रिय भूमि आयोगमार्फत व्यवस्थित रूपमा गर्न सरकारलाई सुझाव दिएका छन्।







