रुपन्देही । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा भनेजस्तो नेपालले पनि भारतको जग्गा मिचेको आफूले अहिलेसम्म नसुनेको बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका उपाध्यायले कुनै तथ्यका आधारमा यो विषय आएकोजस्तो आफूलाई नलागेको तर प्रधानमन्त्री कुन परिवेशलाई जोडेर भनेको विषय प्रष्ट नभएको बताए ।
उपाध्यायले भने, ‘हामीले गरेको अध्ययनमा अहिलेसम्म नेपालले भारतको जग्गा मिचेको कतै भेटाएका छैनौ, सुनेका पनि छैनौ, भारतले पनि त्यो कुरा कतै भनेको रेकर्डमा भेटिएको छैन, प्रधानमन्त्रीले सदनमै यो विषय किन र कसरी भन्नुभयो भन्ने विषय त उहाँबाटै जवाफ आउला तर यस्तो गम्भीर विषय सदनमा भन्दा तथ्य पनि भनिनुपर्दछ, सबैलाई प्रष्ट पारिनुपर्दछ ।’ उपाध्यायले सीमा क्षेत्रका धेरै नागरिकको दुवै देशमा जग्गा भएको, दुवै देशको उत्तिकै प्राथमिकतामा राख्ने भेटिएको र खेती गर्दा दशगजा यता र उता भएको हुनसक्ने भए पनि तथ्यांकमै नेपालबाट सीमा नै मिचिएको विषय अहिलेसम्म आफूले नसुनेको जनाए । ‘नेपाल तर्फबाट भारतको कहीँ कतै जग्गा मिचिएकोजस्तो मलाई लाग्दैन, प्रधानमन्त्रीले भनेजस्तो होइन, यो विषय प्रधानमन्त्री र उहाँको पार्टीबाट आउला’ उनले भने ।
दुई देशको सीमा क्षेत्रमा जंगे पिलर हराउँदा केही ठाउँमा समस्या देखिएको हुनसक्ने भए पनि भारतीय जग्गा भने नमिचिएको उनको भनाइ छ ।
नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, सन्धि–सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)ले पनि नेपाल र भारतको सीमा विवाद अधिकांश समाधान भइसकेको र लिम्पियाधुरा, लिपुलेक, सुस्ता तथा कालापानीका विषयमा दुवै देशबाट उच्चस्तरीय संयन्त्रबाट टुंगो लगाउने भनिए पनि भारतले त्यसलाई ध्यान नदिएको उनले बताए ।
‘भारतले संवाद गर्छु भन्छ तर अनेक कुरा गरेर टारेको छ, सुस्ता र कालापानीको विषय टुंगाउन धेरै प्रयास भएपनि भारतले नमानेको अवस्था हो, अन्य धेरै ठाउँको विवाद समाधान भएको छ, सीमा क्षेत्रको दशगजा क्षेत्रमा कुनै स्थानमा अझै स्थानीयको सामान्य समस्या हुनसक्छ तर धेरै ठाउँ मिलेका छन्’ उनले भने ।
साभार ः नेपाल प्रेस







