गृहपृष्ठ Featured प्रदेश कांग्रेसद्वारा २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित

प्रदेश कांग्रेसद्वारा २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित

बुटवल — बुटवलमा दुई दिनदेखि जारी नेपाली कांग्रेसको जरा अभियान मंगलबार सकिएको छ । भेलाले २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालाले प्रधानमन्त्री वालेन्द्र साहको नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिप्रति पनि आपत्ति जनाएको छ । पार्टीका केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेतृत्वबीच भएको विषयगत छलफल र अन्तरक्रियाबाट पारित संकल्पमा प्रधानमन्त्री साहको जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रिय हितविपरीत रहेको ठहर गरेको छ । प्रधानमन्त्री, सरकार र सत्तारुढ दलले अभिव्यक्ति सच्चाएर संसद‍्बाटै माफी माग्नुपर्ने पनि अभियानले निष्कर्ष निकालेको छ ।

भेलाले नागरिकमुखी र जवाफदेही शासन प्रणालीलाई सुदृढ बनाउँदै संविधानले सुनिश्चित गरेका नागरिक अधिकार, स्वतन्त्रता र मौलिक हकको संरक्षण गर्ने तथा उत्तरदायी सरकारको अनुभूति दिलाउने गरी काम गर्न माग गरेको छ । विश्व शान्तिको मुहान तथा बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वका बौद्ध धर्मावलम्बीहरूको प्रमुख गन्तव्यका रूपमा विकास गर्न लुम्बिनी गुरुयोजनाका बाँकी काम समयमै सम्पन्न गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको निष्कर्ष संकल्पमा उल्लेख छ । विधिको शासनलाई सुदृढ बनाउन संविधानको मर्म, विधि, प्रक्रिया र नागरिकको आत्मसम्मानलाई केन्द्रमा राखेर मात्र निर्णय गर्न संघीय सरकारलाई आग्रह गरिएको छ ।

सम्बन्धित् समाचार