काठमाण्डाै – लुम्बिनी प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका नेकपा (एमाले) का चार जनाको राजीनामा स्वीकृत भएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, स्वास्थ्यमन्त्री खेमबहादुर सारु मगर, कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले चारै जना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनुभएको छ । तर प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर लुम्बिनी प्रदेश बाहिर रहनुभएकोले आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ ।
लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेसले पूर्वसहमतिअनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ । तर एमालेका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढेको छ ।
लुम्बिनी प्रदेश सरकारले साउन १ गतेदेखि ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ ।







