काठमाण्डौ – भारतमा रहेका नेपालीहरूले अब मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सामसारा रेमिट र पशुपति पे इन्डिया बीचको रणनीतिक साझेदारीमार्फत यो सेवा सञ्चालनमा आएको हो ।
नयाँ व्यवस्थाअनुसार भारतमा रहेका लाखौँ नेपालीहरूले ‘पशुपति पे’ मोबाइल एप डाउनलोड गरी अनलाइन केवाईसी (ग्राहक पहिचान प्रक्रिया) पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै ठाउँबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यस सेवाका लागि अब एजेन्ट वा भौतिक सेवा केन्द्रमा पुग्नुपर्ने आवश्यकता नहुने बताइएको छ ।
यसअघि धेरै सेवाग्राहीहरूलाई रेमिट्यान्स पठाउन एजेन्ट वा सेवा केन्द्रमा जानुपर्ने बाध्यता रहे पनि नयाँ डिजिटल प्रणालीमार्फत सम्पूर्ण प्रक्रिया मोबाइलमै पूरा गर्न सकिने भएकाले समय र लागत दुवै बचत हुने तथा सेवा अझ सुरक्षित तथा सहज हुने कम्पनीले जनाएको छ ।
सामसारा रेमिटका डीजीएम राजीव पोखरेलका अनुसार भारतको जुनसुकै ठाउँबाट २४सै घण्टा नेपालका बैंक खातामा तथा डिजिटल वालेटहरूमा सिधै पैसा पठाउन सकिनेछ । उहाँका अनुसार सेवा पूर्ण रूपमा वैधानिक, सुरक्षित र नियमनअनुसार सञ्चालन हुनेछ ।
कम्पनीले यो सेवा परम्परागत माध्यमभन्दा कम लागतमा उपलब्ध हुने र सेवा शुल्क (कमिसन) पनि प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम हुने जनाएको छ । नयाँ प्रयोगकर्ताका लागि पहिलो कारोबार निःशुल्क गर्ने व्यवस्था पनि गरिएको छ ।







