काठमाण्डौ — आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरुको अनुमान छ । पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढेको हो ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेश प्रदेशका एक–दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ ।
आज राति कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ ।
देशका पहाडी भू–भाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ







