काठमाडौं । मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘पारदर्शी समाज’ गठन गरिएको छ । पूर्वराजदूत दीपकुमार उपाध्यायको अध्यक्षतामा समाज गठन गरिएको हो ।
समाजका सदस्यमा वासु दाहाल, सन्तोष गिरी, सोमबहादुर थापा र मुमाराम खनाल छन् । संस्थाले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउन नागरिकस्तरबाट खबरदारी गर्ने जनाएको छ ।
समाजले भ्रष्टाचारजन्य घटनाका बारेमा तथ्यमा पुगेर अध्ययन, अनुसन्धान गर्नेछ । अध्ययन तथा अनुसन्धान गरिएका प्रतिवेदन सार्वजानिक गर्न समाजले ‘पारदर्शीसमाज डट ओआरजी’ नामक वेबसाइट पनि सार्वजानिक गरेको छ ।
वेबसाइट सार्वजानिक कार्यक्रममा अध्यक्ष उपाध्यायले भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सुशासनबिना मुलुकको अवस्था सुधार हुन नसक्ने बताए । भ्रष्टाचार र कमजोर सुशासनका कारण नेपालको आर्थिक अवस्था निकै कमजोर बनेको उनको भनाइ छ ।
आम्दानी नबढ्ने तर खर्च मात्र बढ्ने गरेका कारण देशमा आर्थिक संकट आएको उनले औँल्याए ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका सन्दर्भमा पनि समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना र तथ्यका आधारमा अध्ययन, अनुसन्धान गरिरहेको जनाएको छ ।
न्युज एजेन्सी नेपाल









