गृहपृष्ठ खबर आज, भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

आज, भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

काठमाण्डौ – आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ ।

थोरै ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै पर्सि पनि पहाडी भेगका एक, दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढी सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ ।

प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ ।

यसपालि नेपालमा मनसुन जुन १९ तारिख अर्थात् असार ५ गते भित्रिएको हो । तर अझैसम्म पुरै देशभर फैलिएको छैन । औसत मितिभन्दा ६ दिनपछि भित्रिएको मनसुन प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन् ।

मनसुन बाँकी भागमा पनि फैलिने क्रममा छ । यस्तो बेला ठुलो वर्षासँगै कतैकतै अचानक बाढी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित् समाचार