काठमाण्डाै – प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाउनुभएको छ ।
काठमाण्डाैमा आज आयोजित एक कार्यक्रममा संयाेजक प्रचण्डले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको आरोप लगाउनुभएको हो ।
सरकारले सुकुम्वासी बस्ती हटाउने, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियन अधिकार खोस्ने, देशको सीमानाको विषयमा जथाभाबी बोल्ने काम गरेपछि आफूले एक पटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तु भएकाे उहाँकाे भनाइ छ ।
संयोजक प्रचण्डले आफूहरूले विगतमा वर्ग सङ्घर्ष, विचार र रणनीतिलाई भुल्ने गम्भीर गल्ती गरेको स्वीकार गर्दै त्यस भूलबाट शिक्षा लिएर अघि बढ्ने पनि बताउनुभयो ।







