काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले मधेश र लुम्बिनी प्रदेशका केही भू–भागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अपेक्षाअनुसार वर्षा हुन नसकेको बताउनुभयो । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
‘मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर ठाउँकाे आसपास रहेकाे छ’, उहाँले भन्नुभयो, ‘पूर्वानुमान गरिएजस्तो वर्षा नभए पनि देशका धेरैजसाे पहाडी भूभागमा मध्यम वर्षा भइरहेको छ । अहिलेको वर्षा मुख्यतः पहाडी क्षेत्रमा केन्द्रित छ ।’
अर्यालले अहिले लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा मध्यम वर्षा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आउँदा दिनमा वर्षाको गतिविधि क्रमशः विस्तार हुने सम्भावना छ । विशेषगरी पहाडी भूभागमा मेघगर्जन, चट्याङ र मध्यमदेखि ठूलाे वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
विभागले आज ४ वटा प्रदेशमा ठूलाे वर्षाको सम्भावना, मधेश र लुम्बिनीका तराईमा हुरीबतासको जोखिम रहेको जनाएको छ । विभागका अनुसार मनसुनी प्रणालीको प्रभावका कारण आज देशका धेरैजसाे भूभागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलाे वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले आज जारी गरेको तीन दिने मौसम पूर्वानुमानअनुसार आज देशका पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलाे वर्षाको सम्भावना रहेकाले नदी आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुनसक्ने ठाउँका बासिन्दालाई सतर्क रहन विभागकाे आग्रह छ ।
मधेश तथा लुम्बिनी प्रदेशका केही ठाउँमा हुरी चल्ने सम्भावना रहेकाले कमजोर संरचना, कृषि बाली तथा विद्युत् र सञ्चार सेवामा असर पर्न सक्ने विभागले जनाएको छ ।
आज राति देशका हिमाली भूभागका धेरै ठाउँ तथा पहाडी र तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराईका धेरै ठाउँ, मधेश प्रदेशका धेरै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एक/दुई ठाउँमा ठूलाे वर्षा हुनसक्ने सम्भावना छ ।
आउँदा केही दिन मनसुनी गतिविधि कायम रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन, नदी तथा खोलामा आउने आकस्मिक बहाव, पहिरो र शहरी डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।







