गृहपृष्ठ खबर कपिलवस्तुमा १ लाख ३७ हजारका भन्सार छलीका सामान बरामद

कपिलवस्तुमा १ लाख ३७ हजारका भन्सार छलीका सामान बरामद

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तु प्रहरीले जिल्लाको मायादेवी गाउँपालिकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका अवैध कपडा तथा कस्मेटिक सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी चौकी पकडीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मायादेवी गाउँपालिका–३, बसौली क्षेत्रबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न कपडा तथा कस्मेटिक सामग्री नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामानको अनुमानित मूल्य रु. १ लाख ३७ हजार ७ सय रहेको छ। बरामद गरिएका सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सुठौली भन्सार कार्यालय, कपिलवस्तु पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइने अवैध सामानको ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ। पछिल्लो समय कपिलवस्तुको सीमावर्ती क्षेत्रमा अवैध सामानको ओसारपसार रोक्न प्रहरीले नियमित रूपमा विशेष अभियान सञ्चालन गर्दै आएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भन्सार छली, तस्करी तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध आफ्नो अभियान निरन्तर जारी रहने उल्लेख गर्दै यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

सम्बन्धित् समाचार