काठमाण्डौ — गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रुपन्देही, पाल्पा, कपिलवस्तु, दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कपिलवस्तुको वाणगंगा, रुपन्देही र पाल्पाको तिनाउ तथा रामेछापको लिखु खोलामा बाढी आएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
काठमाण्डौको बागमती नदीमा राति ठूलो बाढी आए पनि अहिले घट्न थालेको छ । अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरुमा तथा मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका थोरै ठाउँहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।







