गृहपृष्ठ खबर २४ घण्टामा विपद्का ६२ घटना, २ जनाकाे ज्यान गयाे

२४ घण्टामा विपद्का ६२ घटना, २ जनाकाे ज्यान गयाे

देशभर पछिल्लो २४ घण्टामा ६२ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा बाढी पहिरो, डुबान, सर्पदंशजस्ता प्राकृतिक विपद्का घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पदंशका कारण दुई जनाको ज्यान गएको छ भने पहिरोबाट दुई जना घाइते भएका छन् ।

यस्तै २४ घण्टाको अवधिमा ११ वटा सडक अवरुद्ध भएका छन् । प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार विपद्का कारण झन्डै १२ लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । घटनामा ६ वटा चौपाया पनि क्षति भएको छ ।

२४ घण्टामा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, ८ वटा आगलागी, ७ वटा अविरल वर्षा, ५ वटा जनावर आक्रमण तथा ३ वटा बाढीका घटना भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

हिजो र अस्ति देशका विभिन्न ठाउँमा वर्षासँगै बाढी पहिरो, डुबानजस्ता विपद्का घटना बढ्न सक्ने भन्दै प्राधिकरणले चेतावनी जारी गरेको थियो ।

यस्तै बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा ९ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार पृथ्वी राजमार्गसहित मेची, अरनिको र पृथ्वी राजमार्गका केही खण्ड तथा दिक्तेल–भोजपुर मध्यपहाडी सडक, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढीका कारण सडक अवरुद्ध बनेका हुन् । पृथ्वी राजमार्गको चितवन र धादिङमा भएका अवरोध हटेकाे छ ।

वर्षा भइरहेकाले बाढी–पहिरोको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ । सम्भावित सास्ती र जोखिमबाट बच्न यात्रा गर्नुअघि अनिवार्य रूपमा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीको आग्रह छ ।

सम्बन्धित् समाचार