गृहपृष्ठ Featured बुधवारदेखि पानी पर्न कम हुँदै जाने

बुधवारदेखि पानी पर्न कम हुँदै जाने

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम र कर्णालीको पहाडी क्षेत्रका केही ठाउँबाहेक देशका धेरै ठाउँमा पानी परेको छ ।

सिन्धुपाल्चोक, रुपन्देही, दाङलगायतका जिल्ला र आसपासमा आरीघोप्टे वर्षा भएको छ । अन्य जिल्लाहरूमा पनि खेतापातीका लागि पर्याप्त वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले पर्सि बुधवारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा उत्तरतर्फ रहेकाले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधवारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ ।

आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको अर्यालले जानकारी दिनुभयो । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका १/२ ठाउँमा राति मुसलधारे वा आरीघोप्टेसमको वर्षा हुन सक्ने छ । ती क्षेत्रमा बाढी पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सम्बन्धित् समाचार