गृहपृष्ठ Featured वैज्ञानिकहरूले पृथ्वीजस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए

वैज्ञानिकहरूले पृथ्वीजस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए

अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वीजस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन् । यो खोज सौर्यमण्डलबाहिर पृथ्वीजस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ । हिलियम आफैँमा जीवनका लागि उपयुक्त मानिँदैन तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन् ।

यस अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्भर्ड विश्वविद्यालयका डा. कोलिन चेरुबिमले यस खोजलाई ‘ठूलो उपलब्धि’ भन्नुभएको छ । उहाँका अनुसार पहिलो पटक अर्को ताराको बसोवासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको हो ।

‘एलएचएस ११४० बी’ नामक यो ग्रह पृथ्वीबाट ४८ प्रकाश वर्ष टाढा छ । यो ग्रहले सूर्यभन्दा निकै सानो र कम तातो–रातो ताराको परिक्रमा गर्छ ।

अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गरिरहेका ६ हजारभन्दा धेरै ग्रहहरू पत्ता लगाएका छन् । पछिल्लो अनुसन्धानले अर्काे ग्रहमा जीवनको खोजीतर्फ अर्काे महत्त्वपूर्ण पाइला अघि बढाएको खबरमा उल्लेख छ ।

‘साइन्स’ जर्नलमा प्रकाशित यस अनुसन्धानका लेखकहरूले अहिलेसम्म अन्य कुनै पनि ग्रहमा जीवन फेला नपारेको स्पष्टरूपमा बताएका छन् । तर ग्रहमा जीवनको सम्भावनाका लागि पानीको उपस्थिति अनिवार्य हुन्छ । ग्रहको तापक्रम न त धेरै तातो न त धेरै चिसो भएको अवस्थामा जीवनका लागि उपयुक्त हुन्छ ।

अहिलेसम्म वैज्ञानिकहरूले आ–आफ्ना ताराहरूको ‘गोल्डिलक्स जोन’ मा सयौँ ग्रहहरू पत्ता लगाएका छन् । यद्यपि तीमध्ये केही दर्जन मात्र पृथ्वीजस्तै साना र चट्टानी छन् । यसलाई यस्ता ग्रहहरूमा जीवनको सम्भावना हुन सक्ने एउटा महत्त्वपूर्ण सङ्केतका रूपमा पनि लिइन्छ ।

वैज्ञानिकहरूले जीवनको खोजीमा ‘एलएचएस ११४० बी’ ग्रहलाई मात्र हेरिरहेका छैनन् । वैज्ञानिकहरू ‘के २–१८ बी’ नामक सब–नेपच्युन ग्रहप्रति पनि विशेषरूपमा इच्छुक छन् ।

यसमा पानीको प्रचुरता भएको क्षेत्र हुन सक्ने विश्वास गरिन्छ । वैज्ञानिकहरूले त्यहाँ ‘डाइमिथाइल सल्फाइड’ नामक ग्यासको सङ्केत पत्ता लगाएपछि यो ग्रह चर्चामा आएको थियो । पृथ्वीमा यो ग्यास समुद्री जीवहरूसँग सम्बन्धित मानिन्छ ।

तर सन् २०२५ मा नासाको नेतृत्वमा भएको पुनः विश्लेषणले यो सङ्केत पुष्टि गर्न सकिने गरी बलियो नभएको देखाएको थियो ।

सम्बन्धित् समाचार