नेपाल सरकार र व्यवसायीको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित सीप प्रमाणीकरण कार्यक्रम (एसभीपी) कार्यान्वयनमा ल्याएको छ ।
साउदीले गएको असार ३ गतेदेखि नै कार्यान्वयनमा ल्याउने तयारी थालेको भए पनि म्यानपावर व्यवसायीहरूले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो । तर अहिले काठमाण्डाैमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ ।
दूतावासले एक निजी कम्पनी परिचालन गरी म्यानपावर व्यवसायीहरूलाई प्रतिश्रमिक ५० देखि १०० अमेरिकी डलरसम्म बुझाउन दबाव दिइरहेको हो । शुरूमा रोजगारदाताले नै यो शुल्क बेहोर्ने भनिए पनि अहिले इमेल पठाएर म्यानपावर व्यवसायीसँगै डलर असुल गर्न थालिएको छ ।
‘साई भिजन डिजिटल’ नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकोले यो पूर्णतया शङ्कास्पद र गैरकानूनी रहेको व्यवसायीहरूको भनाइ छ ।
यसअघि निःशुल्क भिसा र टिकटको व्यवस्था भनिए पनि एसभीपी शुल्क, मेडिकल, खोप र दर्ता खर्चसहित साउदी जाने एक श्रमिकमाथि अहिले झन्डै ३० हजार रुपैयाँको अतिरिक्त आर्थिक भार थपिएको छ । भरिया र ठेला चलाउनेजस्ता सामान्य कामदारका लागि समेत यो परीक्षण अनिवार्य गरिएपछि व्यवसायीहरू रुष्ट बनेका छन् ।
यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत साउदी सरकारलाई कूटनीतिक पत्राचार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताएको छ ।







