प्रहरीले अवैध कारोवारमा संलग्न भएको आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ ।
बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
उनले बसपार्कका होटेलबाट अवैध काम धेरै हुने गरेको गुनासो आएको उल्लेख गर्दै राउतमाथि नेपाल राष्ट्र बैंक ऐनको दफाबमोजिम कारबाही हुने जानकारी दिए ।
न्यू लक्ष्मी होटेल एण्ड लजका सञ्चालक धर्मराज बस्नेतले जाजरकोटाबाट आएका छ जना ठेकेदारको जिम्मामा रहेका करिब ५० जना श्रमिकलाई भारतीय रुपैयाँ आवश्यक परेकाले रकम सङ्कलन गरी सटहीका लागि कर्मचारी राउतलाई पठाइएको जिकिर गरे ।






