मौसम पूर्वानुमान महाशाखाले आज सोमबार बिहान ८ बजे जनाएअनुसार हाल देशभर साधारणतया बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान, बागमती प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा कोसी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यस्तै आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान र कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा दिउँसो २/३ बजेपछि पानी पर्ने सम्भावना छ।
‘अहिले बिहान पनि कतै कतै फाटफुट पानी परिरहेको छ’, उनले नेपालखबरसँग भनिन्, ‘तर यो अब रोकिने क्रममा छ र केही समय घाम-बादल घाम-बादलको अवस्था रहनेछ। फेरि दिउँसो २/३ बजेपछि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।’








