गृहपृष्ठ Featured वैशाखयता विपद‍्बाट १९६ जनाकाे ज्यान गयाे, सर्पदंशबाट ५४ जनाले ज्यान गुमाए

वैशाखयता विपद‍्बाट १९६ जनाकाे ज्यान गयाे, सर्पदंशबाट ५४ जनाले ज्यान गुमाए

काठमाण्डाै – गएको वैशाख १ गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपद्का घटनामा परेर १९६ जनाको ज्यान गएको छ । यी घटनामा परेर ४ जना अझै बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ४ हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन् जसबाट ५ हजार १८८ परिवार प्रभावित भएका छन् भने १ हजार २१८ जना घाइते भएका छन् ।

वैशाखपछिको समय सर्पदंश विपद्को मुख्य घातक कारण बनेको छ । सर्पदंशका ७१६ वटा घटनामा ५४ जनाको ज्यान गएको छ भने ६६८ जना घाइते भएका छन् ।

यस्तै चट्याङबाट २५, लेक लागेर २२, पहिरो र आगलागीबाट २०–२० जना, जनावरको आक्रमणबाट १८, बाढीबाट १४ तथा हावाहुरीबाट १३ जनाको ज्यान गएको छ । अत्यधिक वर्षा, ढुङ्गा पल्टिएर, वन डढेलो, हिउँ पहिरो र विस्फोटलगायतका घटनाबाट ९ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच आज बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ३४ वटा विपद्का घटना भएका छन् । यी घटनामा परेर सर्पदंशबाट १ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

– न्युज एजेन्सी नेपाल

सम्बन्धित् समाचार