काठमाण्डौ — गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै मोरङ, सुनसरी, सिन्धुपाल्चोक, अर्घाखाँची, अछाम, रुकुम, जाजरकोट र दाङमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
आज दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने र केही ठाउँमा भने मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी र तराईका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा आरीघोप्टे पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।







