गृहपृष्ठ Featured गुल्मी अस्पताल भवन निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन

गुल्मी अस्पताल भवन निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन

गुल्मी — भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गुल्मी अस्पतालको भवन निर्माणमा चरम ढिलासुस्तीका कारण ठेक्का तोड्न ठाडो निर्देशन दिएका छन् । आइतबार गुल्मी सदरमुकाम तम्घासमा निर्माणाधीन गुल्मी अस्पताल भवनको मन्त्री लम्सालले अनुगमन गरेका हुन् ।

दुई वर्षमा निर्माण सक्ने गरी सम्झौता भए पनि पाँच वर्ष बित्दासमेत गुल्मी अस्पतालको निर्माणाधीन भवनले पूर्णता पाउन सकेको छैन । निर्माणाधीन भवनको हालसम्मको कामको जानकारी लिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री लम्सालले ठेक्का तोड्न ठाडो निर्देशन दिए । ‘काम गर्छु त भनिहाल्छ, गरेको छ कि छैन भन्ने कुरा हो,’ उनले भने, ‘ठेक्का रद्द गरिहाल्नू, बाँकी बजेटले ठेक्का लगाएर काम गरिहालौं ।’  साथमै रहेका गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकालले पनि ठेक्का तोडेर काम अगाडि बढाउनुपर्नेमा सहमति जनाउँदै सोहीअनुरुप गर्नुपर्ने बताए ।

गुल्मी अस्पताल भवन निर्माणको जिम्मा स्वच्छन्द/बानियाँ जेभी मकवानपुरले लिएको छ । जुन कम्पनी नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको हो । तर, मन्त्री लम्साल ठेक्काको जिम्मा लिएर दुई वर्षमा गर्नुपर्ने काम पाँच वर्ष पूरै बित्दासमेत नगर्ने निर्माण व्यवसायीलाई हर्जाना लगाएर काम गराएरै छाड्नुपर्नेतर्फ भने केही बोलेनन् ।

गुल्मी अस्पतालको नयाँ भवन ५० शय्यामा स्तरवृद्धि गरी २०७८ असार १८ गते स्वच्छन्द/बानिया जेभी मकवानपुरले भ्याटबाहेक २५ करोड ९४ लाख रुपैयाँमा २०८० असार १७ गते सक्ने गरी जिम्मा पाएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाबाट निर्माण कार्यान्वयन भइरहेको यो भवन निर्माण कम्पनीले पहिलो पटक ६ महिना, दोस्रो पटक १ वर्ष र ६ महिना म्याद नथपीकन काम, तेस्रो पटक ६ महिना र चौथो पटक म्याद थप गरी काम भइरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पाल्पाका इन्जिनियर घनश्याम यादवका अनुसार हालसम्म गुल्मी अस्पताल भवनको ९२ प्रतिशत भौतिक प्रगति र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ । अब ६ करोड रुपैयाँ बराबरको मात्रै काम बाँकी छ । बाँकी कामका लागि सामग्री आएका छन् ।

फिनिसिङको मात्रै काम बाँकी रहेको भूकम्प प्रतिरोधी पाँच तलाको गुल्मी अस्पताल भवन लिफ्टसहितको अपाङ्गमैत्री रहेको छ । दातृनिकायका तर्फबाट पीएमसी कन्सल्टेन्ट सीएसआईआरमार्फत काम रेखदेख भइरहेको छ । यो भारत सरकारको पूर्ण सहयोगमा निर्माण भइरहेको छ ।

सम्बन्धित् समाचार