नेपाल टेलिकमको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.५८ प्रतिशत बढेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो।
नेपाल टेलिकमको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। यस वर्ष खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ बढेको छ।
कम्पनीको आम्दानीतर्फ पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो।
गत वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढेको हो। त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो।
यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ। कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको मुनाफा (ईबीआईटीडीए) पनि बढेको छ। चौथो त्रैमासिकसम्म यस्तो मुनाफा २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो रकम १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो।
यस वर्ष ईबीआईटीडीए १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढेको हो। त्यस्तै, कम्पनीको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा करअघिको मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि वार्षिकीकरण आधारमा ४९ रुपैयाँ २५ पैसा छ। ब्याज आम्दानी घट्दा पनि नाफामा उल्लेख्य वृद्धि नेपाल टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घट्दै जाँदा कम्पनीको ब्याज आम्दानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। चौथो त्रैमासिकसम्म ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।
तर दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिले समग्र सञ्चालन आय बढाउन योगदान गरेको छ। विशेषगरी जीएसएम सेवातर्फको राजस्व अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ। कम्पनीले मुलुकको सञ्चार सेवाको जिम्मेवारी वहन गर्दै बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कामलाई निरन्तरता दिइरहेको जनाएको छ।
समग्रमा सञ्चालन आयमा सामान्य वृद्धि भए पनि ब्याज आम्दानीमा आएको गिरावटका बीच नेपाल टेलिकमले करअघिको मुनाफा र विशेषगरी खुद मुनाफामा उल्लेख्य सुधार गरेको वित्तीय विवरणले देखाएको छ।







