बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ । बङ्गलादेशको विदेश मन्त्रालयले भ्रमणका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ ।
बङ्गलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम सहिदुल करिमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको हो ।
यसअघि भारतीय सञ्चारमाध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर २ दिने भ्रमणका लागि भारत आउन सक्ने सङ्केत गरेका थिए । यसका साथै बङ्गलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे पनि सङ्केत गरेका थिए ।
विदेश मन्त्रालयका प्रवक्ता करिमले भारतीय अधिकारीहरूसँग अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा शहीद सरिफ उस्मान हादीको हत्याका आरोपीहरूलाई द्विपक्षीय सुपुर्दगी सन्धिबमोजिम बङ्गलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो । बङ्गलादेशले भारतको जवाफ कुरिरहेको उहाँको भनाइ छ ।
भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो ।
यस्तै भारतले बिमस्टेकका वर्तमान अध्यक्ष तथा बङ्गलादेशका प्रधानमन्त्री रहमानलाई आउँदो सेप्टेम्बरमा राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनका लागि पनि निमन्त्रण दिएको छ ।







