जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार देशमा सय वर्ष वा सोभन्दा माथि उमेरको मानिसको संख्या १ लाख ७ हजार ६ सय ७७ पुगेको छ। यो संख्या अहिलेसम्मकै उच्च हो।
यो अघिल्लो वर्षको तुलनामा ७ हजार ९ सय १४ बढी हो।
बीबीसीका अनुसार जापानको इतिहासमा पहिलोपटक सय वर्ष पुगेकाहरूको संख्या लाख नाघेको हो।
यो सूचीमा अधिकांश महिला छन्। अर्थात् सय वर्ष पुगेका महिलाको संख्या ९४ हजार २ सय ९८ छ। जुन कुल संख्याको लगभग ८८ प्रतिशत हो। १०० वर्ष माथिका पुरुषको संख्या भने जम्मा १३ हजार ३ सय ७९ छ।
चालु आर्थिक वर्षमा जापानमा थप ५४ हजार २९४ जना १०० वर्ष पुग्ने अपेक्षा गरिएको छ। यी शताब्दी वर्षका व्यक्तिहरूले प्रधानमन्त्रीबाट बधाई पत्रसहित चाँदीको जलप लगाएको ट्रफी प्राप्त गर्नेछन्।
जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिको उपाधि हाल क्योटो सहरमा बस्ने श्रीमती फुयो किसिमोतोको नाममा छ, जो गत डिसेम्बरमा ११४ वर्षकी भइन्। यसैबिच देशको सबैभन्दा वृद्ध जीवित पुरुष कुमामोटो सहर निवासी श्री हिकारु काटो हुन्, जो मे महिनामा ११२ वर्षका भए।






