जनता समाजवादी पार्टी, नेपालले भोटेकोसी-त्रिशूली बाढीपीडितलाई सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ रकम जम्मा गराएको छ।
सो रकमको चेक मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जसपा नेपालले जनाएको छ। चेक हस्तान्तरण गर्न पार्टीका महासचिवद्वय प्रकाश अधिकारी र डा. सुरेन्द्रकुमार झासहित विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग संकलन समितिका संयोजक तथा पार्टीका सचिव शैलेन्द्र प्रसाद साह एवं सदस्यहरू वीरेन्द्र प्रधान, रमेशबाबु श्रेष्ठ पेशल ढकाल र भुवनेश्वर चौधरी सम्मिलित प्रतिनिधिमण्डल मंगलबार अर्थ मन्त्रालय पुगेको थियो।
रकमको चेक हस्तान्तरणपछि जसपा नेपालले विज्ञप्तिमार्फत भनेको छ, ‘रसुवागढी तथा भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य हो । जनता समाजवादी पार्टी, नेपाल यस संकटको घडीमा विपद् प्रभावित नागरिकहरूको साथमा रहेको छ र नेपाल सरकारको उद्धार राहत तथा पुनर्स्थापना अभियानलाई समर्थन गर्दछ।’







