सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा धेरै कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले यसबारे जानकारी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उपप्रधानमन्त्री योङले बैंकिङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएका बताउनुभयो । ती संस्थाले भर्खरै शुरू भएको ‘इन्स्टिच्युट अफ बैंकिङ एन्ड फाइनान्स (आईबीएफ) एआई वर्कफोर्स को–ल्याब’ मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछन् ।
आईबीएफबाट मान्यताप्राप्त कार्यक्रममार्फत आधाभन्दा धेरै कर्मचारीले यससम्बन्धी तालिम लिइसकेका छन् ।
‘एआई वर्कफोर्स को–ल्याब’ ले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्याङ्कन गर्नेछ । साथै तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तनसम्बन्धी व्यावहारिक उपायको परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्ने खबरमा उल्लेख छ ।
उपप्रधानमन्त्री योङका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकासलगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ ।
एआईको प्रयोगबाट सिङ्गापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहेको उहाँले बताउनुभयो । यसका लागि वित्तीय संस्थाको प्रतिबद्धता र सक्रियतासँगै सरकार तथा श्रमिक सङ्गठनको साझेदारी र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।







